

एजेन्सी : श्रीदेवीको मृत्यु कसरी भयो, अचानक दुबईमा त्यस्तो के भएको थियो जसका कारण उनको ज्यानै गयो ? बाथ टबमा डुबेका कारण उनको मृत्यु भएको हो भनेर प्रहरीले जानकारी दिए । तर प्रशंसक अहिलेसम्म पनि यो कुरा पत्याउन सकिरहेका छैनन् । किनभने उनको परिवारमा कोही पनि यसबारे बोल्न राजी थिएनन् । तर अब पहिलो पटक श्रीदेवीका फिल्म निर्माता श्रीमान् बोनी कपुरले यसबारे मुख खोलेका छन् । अन्तिम समयमा के भएको थियो र उनको मृत्युको वास्तविक कारण के हो भनेर बोनीले एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् ।
श्रीमतीबारे कुरा गर्दा छल्किएको पीडा
बोनी कपुरले द न्यु इन्डियनलाई दिएको अन्तरवार्तामा यसबारे खुलेर कुराकानी गरेका छन् । बोनीले श्रीदेवीलाई आज पनि धेरै नै मिस गर्ने बताए । उनले भने, ‘उनले जे जति चाहन्थिन्, त्यो कुरा हेर्न आज उनी मसँग छैनन् । उनले भनेपछि नै मैले क्षेत्रीय सिनेमामा कदम राखेँ । छोरी जान्ह्वी कपुरको सफलता, सानी छोरी खुसी कपुरको डेब्यु…. यी सबै उनकै सपना थियो ।’
उनले थपे, ‘मेरो लगातार ६ वटा फिल्म साउथमा रिलिज भएका छन्, सबै हिट छन् । तर यो सफलता हेर्न श्री यहाँ नहुनुले साह्रै पोल्छ । त्यसैले मैले उनको फोटो यहाँ राखेको छु, यो हेरेपछि लाग्छ, उनी यतै कतै छिन् ।’
नुनसम्म खाँदिन थिन् श्रीदेवी
बोनीले भने, ‘उनलाई जसरी पनि सेपमा बस्नुपर्दथ्यो । उनी राम्रो देखिन चाहन्थिन् । सधैँ सेपमा रहिरहन चाहन्थिन् – चाहे त्यो अन स्क्रिन होस् वा अफ स्क्रिन, उनी राम्री देखिन्थिन् । यसका लागि उनी धेरैजसो भोको बस्थिन् । उनी धेरै पटक क्र्याश डाइट गर्थिन् । नुन सम्म पनि खाँदिन थिन् । त्यति बेला पनि उनी डाइटमा थिइन् । मसँग विवाह भएपछि केही मौकामा ब्ल्याक आउटको समस्या भएको थियो र डाक्टरले उनको रक्तचाप कम छ भनेर बताउँथे । सलादमा हल्का छरेर भए पनि नुन त खानुस् भनेर डाक्टरले बारम्बार सल्लाह दिन्थे । तर उनले कसैले भनेको पनि सुन्दिन थिन् ।’