

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले खेलाडीहरुलाई सरकारले दिने भनिएको पुरस्कार अहिलेसम्म निकासा नगरेकोमा आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारको घोषणा कार्यान्वयन नभएको कुरा उठाउँदा उठाउँदा आफूलाई लाज लागिसकेको बता।
‘आज पनि नेपाली क्रिकेट टोलीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई सबैले दिएको होला, पुरस्कार दिन चाहिँ सरकारले बिर्सेको छ’, उनले भने, ‘सरकारले दिने भनेको पुरस्कारबारे कुरा उठाउँदा उठाउँदा मलाई लाज लागेको छ।’ उनले क्रिकेटरहरुलाई सरकारले दिने भनेको पुरस्कार नै जनही १७ लाख रुपैयाँ पुगेको भन्दै अहिलेसम्म निकासा नभएकोमा कटाक्ष गरे।
‘सरकारले दिने भनेको पुरस्कार नै जनही १७ लाख रुपैयाँ पुगिसकेको छ। तर अझैसम्म निकासका भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीले भदौ २८ गते नै खेल खेल्न जानुस्, म दुई दिनमा पुरस्कार दिन्छु भनेको सुनेको थिएँ। तर प्रधानमन्त्री घुमेर आइपुग्दा पनि निकासा भएको छैन।’
शाहले सरकारले दलाल बिचौलिया र ठेकेदारको रकम भए तत्कालै निकासा गर्ने पनि उनले बताए। ‘दलाल, बिचौलिया र ठेकेदारको भए तत्कालै निकासा हुन्थ्यो’, उनले भने, ‘अहिले खेलकुद मन्त्रालय कसैले नलिने अवस्थामा छ। अनि खेल क्षेत्र कसरी माथि उठ्छ।’