‘ज्येष्ठ नागरिकलाई बुढेसकालमा सहारा र मायाको खाँचो’

२०८० आश्विन १६, मंगलवार

टीकापुर : टीकापुरका ८१ वर्षीया ज्येष्ठ नागरिक सिद्धनाथ एक्लै बस्नुहुन्छ । एकासी वर्षको उमेरमा परिवारका सदस्य कोही नहुँदा एक्लै बस्नु परेको र घरको सबै काम आफैले गर्नुपर्दा कठिनाइ हुने गरेको उहाँको गुनासो छ । सिद्धनाथका अनुसार उहाँका छ सन्तान थिए । दुई छोरा र दुई छोरीको मृत्यु भइसक्यो । बाँकी दुई छोरी विवाहपछि भारतमा बस्छन् । उहाँकी श्रीमतीको मृत्युपछि सिद्ध एक्लो हुनुभएको छ ।

“उमेरसँगै शरीर पनि कमजोर हुने रहेछ, घरको काम सबै आफैँ गर्छु”, उहाँले भन्नुभयो, “अहिलेसम्म आफैँ पकाएर खान्छु, सकेसम्म खाउला, नसके कस्ले स्याहार गर्ला भन्ने चिन्ताले सताउँछ ।” सिद्धलाई बुढेसकालमा सहारा कोही नहुँदा कहिलेकाहीँ निकै पीडा हुन्छ । “घरमा एक्लै बस्छु, कुनै दिन जाँगर चल्दैन”, उहाँ भन्नुहुन्छ, “फेरि उठ्छु, भोकै मर्न सकिँदैन, अनि पकाउन थाल्छु, घरमा सरसफाइ गर्छु, दिउँसोतिर बजारतिर डुल्छु ।”

सिद्धजस्तै ज्येष्ठ नागरिक खुशीराम चौधरीको पनि यस्तै अवस्था छ । खुशीरामले बुढेसकालको छोराबुहारी र नाति दुर्घटनामा गुमाउनुप¥यो । अहिले उहाँलाई बुढेसकालमा कसले स्याहार्ला भन्ने पीर परेको छ । “रोजगारीका लागि काममा गएको छोरा, बुहारी र नाति गएको असारमा नदीमा बगेर बिते”, खुशीरामले भन्नुभयो, “श्रीमती बितेको धेरै वर्ष भयो, बुढेसकालमा म एक्लो भए, अब कसरी बाँच्ने होला ?”

छोरा, बुहारी र नाति एकैसाथ गुमाएका खुशीरामको घर सुनसान छ । उहाँलाई बुढेसकालमा साहरा लौरो हराएकाले अब कसरी हिँड्ने भन्ने पीडाले सताएको छ । “सुख भोग्ने बेलामा सन्तान गुमाएँ, म त अभागी रहेछु”, उहाँ भन्नुहुन्छ, “मजस्ताका लागि सरकार अभिभावक हुनुपर्छ, मजस्तालाई बुढेसकालमा सरकारले हेरोस्, यही अपेक्षा छ ।”

ज्येष्ठ नागरिक आशाराम पाण्डेको भोगाइ अलिक फरक छ । उहाँलाई उपचारका लागि अस्पतालमा उपचारमा जाँदा ज्येष्ठ नागरिकले लाइनमा बसेर सेवा लिनुपर्दा पीडा हुन्छ । “हामी लट्ठी टेकेका मानिस अस्पतालमा लाइनमा बस्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “एकातिर बुढेसकाल, अर्कोतिर बिरामी मानिस लाइनमा बसेर सेवा लिन सकिँदैन ।”

ज्येष्ठ नागरिकका विभिन्न खाले समस्या छन् । ज्येष्ठ नागरिकको लालनपालनमा सहयोग होस् भनी सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरेको छ । जसले केही राहतसमेत त भएको छ तर यसरी बेसहारा भएका, समस्या झेलिरहेकालाई सघाउने कार्यक्रम पनि ल्याउनुपर्ने उहाँहरुको माग छ ।

टीकापुरकै अर्का ज्येष्ठ नागरिक सोमलाल चौधरी पनि बुढेसकालमा सहारा नभएको गुनासो गर्नुहुन्छ । “दुई छोरा छन् उनीहरु विदेशमा रोजगारीका लागि गएका छन्”, उहाँ भन्नुहुन्छ, “बुहारी एकजना काठमाडौँ, एकजना नेपालगञ्जमा बस्छन् । म घर र उनीहरुको सम्पत्ति कुरुवा भएको छु ।”

सोमलाललाई घरमा एक्लै बस्दा विभिन्न समस्या हुन थालेका छन् । “घरमा बोल्ने मानिस छैनन्, सबै काम आफैँ गर्नुपर्छ, मसँग बोलिदिने मानिस नभएकाले मलाई निन्द्रा लाग्न छोडेको छ”, उहाँ भन्नुहुन्छ, “धन सम्पत्तिभन्दा माया चाहिएको छ । सबैकुरा पुगेको छ तर मीठो पकाएर खाने जाँगर छैन, बनाएर दिने मानिस छैन ।”

यस्ता समस्या भएका ज्येष्ठ नागरिक यहाँ धेरै छन् । पछिल्लो समय सन्तान रोजगारीका लागि विदेश तथा घरबाहिर हुँदा ज्येष्ठ नागरिकलाई स्याहार गर्ने मानिसको कमी हुन थालेको छ । ज्येष्ठ नागरिकसँग कुराकानी गर्ने मानिस नहुँदा उहाँहरुलाई एक्लोपनको समस्याले सताउन थालेको छ ।

अधिकारकर्मी निर्मला कडायत बुढेसकालमा स्याहार र उनीहरुका कुरा सुनिदिनुपर्ने बताउनुहुन्छ । “जुन उमेरको मानिस भए पनि एक्लो बस्न सक्दैन, पछिल्लो समय मानिस धेरै व्यस्त हुँदा एकअर्कासँग कुराकानी गर्ने, समय दिने घटेका छन्”, उहाँ भन्नुहुन्छ, “ज्येष्ठ नागरिकलाई पनि बच्चालाई जस्तै स्याहार चाहिन्छ भन्नेमा सन्तानले बुझ्नुपर्छ । त्यसरी स्याहार गर्नुपर्छ, उनीहरुको जिम्मेवारी हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार