अस्पताल प्राङ्गणमै सुत्केरी गराइयो : घाइते नौ जनाको उपचार हुँदै

२०८० आश्विन १६, मंगलवार

बझाङ : बच्चा जन्माउनका लागि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी एक महिलाको अस्पताल प्राङ्गणमा सुत्केरी गराइएको छ । तल्कोट गाउँपालिका-१ की २० वर्षीया मनीषा ऐरीको अस्पताल प्राङ्गणमा  सुत्केरी गराइएको हो ।

प्रसव व्यथाले छट्पटाई रहेकी बेला आज भूकम्प गएपछि त्रसित स्वास्थ्यकर्मीले उनलाई अस्पतालको प्राङ्गणमा सारेका थिए । मनीषाको ‘नर्मल डेलिभरी’ भइसकेको अस्पतालका डा. इन्द्र शाहले जानकारी दिए । सुत्केरी र नवजात शिशुलाई बाहिर नै राखिएको छ । 

डा. शाहका अनुसार भूकम्प गएपछि अस्पतालमा उपचाररत सबै बिरामीलाई बाहिर राखिएको थियो । “आधा बिरामी अहिले पनि बाहिरै छन्”, उनले भने । यस्तै, भूकम्पले संरचना भत्किँदा घाइते भएकाहरू पनि उपचारका लागि अस्पतालमा भर्ना हुनेक्रम जारी रहेको छ । अहिलेसम्म नौ जना घाइते भर्ना भइसकेको डा. शाहले जानकारी दिए ।

आज दिउँसो २ः४० बजे बझाङको तल्कोट आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केल र त्यसपछि आधा घण्टाको फरकमा चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले बझाङमा धेरै भौतिक संरचना भत्किएको छ । त्यस्तै, घरहरू चर्किएका छन् । भूकम्पको धक्का प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार