कोशीमा मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने

२०८० आश्विन १६, मंगलवार

बिराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक विश्वासको मत नदिने भएको छ । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले यो पटक भने विश्वासको मत नदिने भएको हो । 

आफूहरूले मत दिए पनि सरकार नटिक्ने भएपछि नदिने मनस्थितिमा पुुगेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । अहिलेको सरकारमा राप्रपा सहभागी भएको छैन । 

‘हामीले विश्वासको मत दिँदा पनि वर्तमान सरकार टिक्दैन,’ सिटौलाले भने ‘४२ जना देखाएमात्रै मत दिएर सहयोग गछौं । नत्र हामीले सहयोग गर्दा पनि त्यसको महत्व रहँदैन ।’ राप्रपा संसदीय दलको बैठकले पनि विश्वासको मत दिने निर्णय गरेको छैन । राप्रपाले साथ नदिएको खण्डमा भने मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेका कार्यवाहक सभामुखसहित ४० जना छन् । सभामुखले निर्णय मतदान मात्रै गर्न पाउने संवैधानिक  व्यवस्था छ । उनले मतदान गर्न नपाउने भएपछि एमालेको ३९ मत मात्रै हुनेछ । कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार