प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर

२०८० आश्विन १७, बुधबार

काठमाडौँ : विशेष अदालतले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई ६० लाख ७५ हजार रूपैयाँ बिगोसहित भ्रष्टाचार गरेको ठहर गरेको छ। न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोलाको इजलासले कार्कीमाथि प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पबाट अनियमितता गरेको ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्सालमा प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्पबाट रकम हिनामिना गरेको भन्दै २०७८ साउन ३१ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। कार्कीले पेट्रोलपम्पमा ग्राहकको खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले माग दाबीभन्दा बिगो आधा कायम गर्दै विशेष अदालतले मुद्दामा कसुर ठहर सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको हो। फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय केही दिनपछि निर्धारण गर्ने व्यवस्था छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार असोज २५ मा सजाय निर्धारणका लागि मिति तोकिएको बताए। ‘हानिनोक्सानी ६० लाख ७५ हजार गरेको बिगो ठहर भएको छ। सजाय पछि निर्धारण हुनेछ’, उनले भने।

रकम हिनामिना गरेको उजुरीमा अनुसन्धान गरी कार्कीले प्रहरी पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकाले निज कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय माग गरेको थियो। एक करोड चार लाख रूपैयाँ अख्तियारले बिगो माग दाबी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार