आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

२०८० आश्विन १७, बुधबार

बलेवा : प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।

छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन् । समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो । बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ ।

पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैँले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् ।

“किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्”, कृषि प्राविधिक रवीन्द्र शर्माले भने , “बाँकोबाट राम्रो आम्दानी हुन्छ ।” यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उनिले बताए ।

छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए । उनिका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन् ।

“नजिकको जङ्गल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उनिले धेरै आम्दानी गर्नुहुन्छ”, छन्त्यालले भन्नुभयो, “समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।”

उहाँका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले बताए । सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनिको भनाइ थियो ।

“दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन् । यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ”, अध्यक्ष छन्त्यालले भर्ने, “समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ ।” एक प्याकेटको मूल्य रू तीन सय कायम गरिएको उहाँले जानकारी दिए । गत वर्षभन्दा प्रति एक सय ग्राममा रू ५० मूल्य कम गरिएको उनिले बताए ।

“जेठ/असारमा जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ”, छन्त्यालले भने , “यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार