

काठमाडौं : नेकपा (माओवादी केन्द्रका ) सांसद समाजलाई शिष्ट र मर्यादित बनाउने हो भने शीर्ष नेता अनुशासित हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले समाजमा जताजतै अराजकता बढेको बताएका हुन्। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत शीर्ष नेताले बोल्दा अनुशासित र मर्यादित भएर बोल्नुपर्ने उनको भनाइ छ। बुधबार सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म आकर्षित हुने गरेर बोलेको पनि बताए।
‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ। भदौको पहिलो हप्ता धरान त्यस्तै एउटा चपेटामा थियो। सर्लाही पनि त्यस्तै चपेटामा थियो। देशैभरि विभिन्न हिसाबले जातीय र साम्प्रदायिक प्रकारका घटनाक्रममा श्रृंखला अगाडि आइरहेका छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल हेरिसाध्य छैन। यति स्वच्छन्द, विश्रृंखल र अराजक छ। चिकित्सकहरू सुरक्षित छैनन्। हातपात भइराखेको छ। प्राध्यापकहरू असुरक्षित छन्। जताततै अराजकताको एउटा श्रृंखला अगाडि आइराखेको छ।’ नागरिकहरूले तीखो आँखाले सदनलाई हेरिराखेका उनले बताए।
‘सदनको चित्र हामी एकपटक हेरौं, पूर्वप्रधानमन्त्रीहरू घन्टौं भाषण गर्नुहुन्छ, यस्ता सवालहरूका बारेमा, सकारात्मक कुरा सम्प्रेषण गर्ने कुरा आउँदैन, अराजकता नियन्त्रणमा लिने कुरा आउँदैन, उल्टै विस्तृत शान्ति सम्झौता आकर्षित हुने, संविधानको मर्मविपरीत कुरा आउँछ।देश समाज कता जाँदैछ, देश समाजले कोसँग आशावादी भएर समाज निर्माणमा योगदान गर्ने?,’ उनले प्रश्न गरे।