

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री शुक्रबार बिहान साढे १० बजे, नेपाली सेनाको हेलिकोप्टरमार्फत् बझाङ जाने कार्यक्रम छ।
मंगलबार बझाङ केन्द्रबिन्दू भएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पुर्याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ। भूकम्पको केन्द्रबिन्दू रहेको बझाङमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्।
भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ। कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गरी १०७ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ३६२ घरमा आंशिक क्षति पुगेको छ।
बझाङ भूकम्पपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका थिए। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए।
‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं। हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं,’ प्रधानमन्त्रीले बैठकमा भनेका थिए।
बझाङमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको अवलोकनका साथै विपत् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुर आसपास र तलकोट क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने गरी तयारी गरिएको छ।