

काठमाडौँ : रामेछापको खाँडादेवी गाउँपालिका-७ स्थित खाँडादेवी मन्दिरको ढोका फुटाएर २ वटा दानपेटिका फुटा चोरी गर्ने एकजनालाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको छ। बुधबार राति भएको उक्त चोरीबारे बिहीबार बिहान खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान थालेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा मन्दिर परिसरमा रहेको सीसीटीभी फुटेजका आधारमा चोरी गर्ने ब्यक्तिको हुलिया पहिचान गरी पक्राउ गर्न सफल भएको हो। प्रहरीले चोरीमा संलग्न ती व्यक्तिलाई खाँडादेखी गाउँपालिका-३ सित्खा बजारनजिक रहेको सुनकोसीको झोलुङ्गे पुलबाट बिहीबार बिहान पक्राउ गरेको हो।
प्रहरीले चेकजाँच गर्ने क्रममा काभ्रे खानिखोला गाउँपालिका-७ घर भएका सेते बहादुर खुलालका २९ वर्षीय छोरा रविन खुलाल समातिएका हुन्। उनको साथबाट चोरी भएको रकमसमेत बरामद भएको छ।