

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई अघि बढाउन विकासका कयौँ परियोजना अघि बढाइएको बताएका छन्।
चैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोनका क्रममा उनले यस्तो बताएका हुन्। उनले सम्बोधनका क्रममा बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्व राख्ने कैयौँ परियोजना अघि बढाइएका बताए।
हालै चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमानाका र दार्चुलाको टिंकर नाका खोल्ने सहमति भएको बताएका छन्। नेपालतर्फ दिपायल-खुटिया-उरै-ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चत गरिएको पनि उनले बताए।
बझाङलाई प्राकृतिक सम्पदाले भरिपूर्ण भन्दै उनले खानीजन्य उद्योग तथा हिमाली पर्यटनका क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना थालिने उल्लेख गरे।
नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर रहेको बताएका प्रचण्डले यसलाई कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए।