

विराटनगर : प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् ।
प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलायो । अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा थियो ।
घरेलु हतियारसहितको टोली आएको जानकारी पाएपछि प्रहरीले सक्रियता बढायो । सुरुमा विराटनगरको घोगापुल चोकमा भेला भएका मध्ये दुई जना पक्राउ परे । अरु भागे । घरेलुहतियारसहित पक्राउ परेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले १३ जनालाई सनीमन्दिर चोक नजिकैबाट पक्राउ गर्यो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेको टोली एउटा समूह मात्रै हो । अर्को समूहको खोजी भइरहेको उनले बताए । ‘ग्याङफाइटकै लागि बाहिरबाट मान्छे बोलाएको देखिन्छ,’ उनले भने, ‘झगडाका लागि जादै गर्दा एउटा समूह घरेलुहतियारसहित पक्राउ पर्यो ।’
प्रहरीको सक्रियताले सम्भावित दोहोरो झडपका कारण हुनसक्ने क्षति टरेको उनले बताए। उनका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद भएको छ ।
‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् । पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको प्रहरीले बताएको छ ।
‘प्रेमिकाको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको देखियो,’ उनले भने,‘विवादकै कारण आज ‘ग्याङफाइट’को योजना बनाएको पाइयो ।’ ‘ग्याङफाइट’को तयारीमा रहेका केही फरार रहेको उनले बताए ।