

काठमाडौं : लागु पदार्थ सेवन गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा शुक्रबार चेकिङ गरी तीन जना सवारी चालकलाई नियन्त्रणमा लिएको हो।
ना ६ ख ५१९६ नम्बरका ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसेका २८ वर्षीय राजन विक, बा २ ख ८२०५ नम्बरको मिनी ट्रक चालक रोल्पा जुराका २७ वर्षीय दिपक विक र बा ५ ख ५२७७ नम्बरका हाइस चालक धादिङ गल्छी गाउँपालिका-५ का ३४ वर्षीय रमेश कमरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार चेक गरेको थियो।
९ वटा सवारीसाधनका चालकमाथि जाँच गर्दा तीन जनाले लापसे गरेको भेटिएको हो।
लापसे गरी सवारीसाधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले अनुरोध गरे।