

बिराटनगर : कोशी प्रदेश सरकारका चार मन्त्री १२ दिनमै पदमुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै उनीहरू पदमुक्त भएका हुन् । गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले दुई पटक मन्त्रीमण्डल विस्तार गरेका थिए ।
भदौ २२ गते आफ्नो शपथसँगै कार्कीले ४ जनालाई मन्त्री नियुक्त गरेका थिए भने असोज ८ गते ४ जना थपेका थिए । कार्कीले पहिलो पटक तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । कार्कीले असोज ८ गते लिलाबल्लभ अधिकारीलाई आन्तरिक, मामिला तथा कानूनमन्त्री वुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका थिए ।
त्यस्तै सुनसरीका रामप्रसाद महतो उद्योग, कृषि, सहकारी राज्यमन्त्री र धनकुटाका निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारी, राजभण्डारी, महतो र राई १२ दिनमै पदमुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय भने आफैंसँग राखेका थिए ।
नेकपा एमाले कोशी प्रदेशको अधिवेशनलाई लक्षित गरेर मुख्यमन्त्री कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेको आरोप समेत लागेको छ । उनले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षका प्रत्याशी विनोद ढकाललाई हराउन मन्त्री बनाएको आरोप एमालेकै नेताहरूले लगाएका छन् । मन्त्रीमण्डल विस्तार गरेपछि कार्की र ढकालबीच एमालेको मतदान स्थलमै भनाभन समेत भएको एमालेका नेताहरूले बताएका छन् ।
एक एमालेका नेताका अनुसार ढकालले आफूलाई असहयोग गरेको भन्दै विश्वासको मत लिएर सरकार जोगाउन चुनौती समेत दिएका थिए । १२ दिनमै पदमुक्त भएका मन्त्रीहरूले भने मुख्यमन्त्रीसँग असन्तोष जाहेर गरेका छन् । मुख्यमन्त्री कार्की भने ३० दिनमा बिदा भएका छन् ।