

हाङझाउ : हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) समापनको सम्मुखमा पुख्दा नेपालले शनिबार बिहानमात्र महिला कबड्डीमा औपचारिक कांस्य पदक हातमा थापेको थियो ।
दिन ढल्कँदै जाँदा शनिबार साँझ नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक महिला खेलाडी एरिका गुरुङले दिलाए ।हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार एरिकाले महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएका हुन् । फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भए ।
कराँतेमा रजत जितेपछि एरिकाले आफ्नो पदक सिंगो नेपाल देशको लगि जितेको बताए । ‘‘मैले आफुले सकेको बेस्ट दिएको हो । फाइनलमा सोफ्याले राम्रो खेल्यो । सायद म चुकेँ । भविष्यमा अझ धेरै कडा मिहिनेत गर्नेछु । कराँतेका लागि अझै स्मार्ट बनेर लाग्नेछु, उनले भने, ‘‘मैले फाइनल खेलाई हार भन्दापनि एउटा लेसनको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’
उनले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताए । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफुलाई भाग्यमानी ठानेकी छु । आफूले आफूलाई प्राउड लागेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीया एरिकाले भने ।
नेपालका प्रशिक्षक कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा एकदमै खुशी लागेको बताए । ‘‘यो कराँतेको ऐतिहासिक पदक हो । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ । फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’’ कुशलले भने ।
एरिकालाई हराएकी काजकिस्तानकी सोफ्या बेरुल्तसेभा एरिका राम्रो खेलाडी भएको प्रतिक्रिया दिए । ‘‘जापनालाई हराएपछि मलाई गाह्रो होला भन्ने सोचेको थिएँ । फाइट प्रतिस्पर्धात्मक थियो । जित्न सकेँ खुशी छु,’’ उनले भने । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुन् ।