

काठमाडौँ : नेपाल राष्ट्र बैंकले असोज २९ गतेबाट दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकका सुचना अधिकारी डा. डिल्लीराम पोखरेलले घटस्थापनाको भोलिपल्ट अर्थात असोज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने जानकारी दिएका हुन् ।
उनका अनुसार उपत्यकामा राष्ट्र बैंकको केन्द्रीय कार्यलय बालुवाटार र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नोट सटही सुविधा पाइने छ । राष्ट्र बैंकको कार्यालयबाट नोट सटही गर्दा क्यूआर स्क्यान गरेर पनि भुक्तानी गर्न पाइने उनले जानकारी दिए ।
यसका साथै वाणिज्य बैंक र विकास बैंकहरुका शाखाबाट पनि नयाँ नोट साटन पाइन्छ । भौगोलिक अवस्थाको आधारमा केही स्थानहरुमा फाईनान्स र लघुवित्त कम्पनीहरुबाट पनि नोट साटन पाइने डा. पोखरेलले बताए ।
सामान्यता एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने गरेको छ । एक बन्डलमा १०० वटा नोट रहन्छ। यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैं तथा तिहारका लागि नयाँ नोट सटही गर्दै आइरहेको छ । राष्ट्र बैंकले गत वर्ष असोज २ गतेदेखि नयाँ नोट सटही गरेको थियो । यस पटक दशैँ ढिला भएकोले केहि ढिलो गरेर राष्ट्र बैंकले नोट सटही गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले गत वर्ष ५६ अर्ब नयाँ नोट सटही गरेको थियो ।