गैंडाको बेपत्ता केटा खोज्न हात्ती परिचालन 

२०८० आश्विन २०, शनिबार

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा गैंडाको बच्चा (केटो) हराएपछि खोजी सुरु गरिएको छ । हात्तीसहित सुरक्षाकर्मीले शनिबारदेखि संगठित खोजी सुरु गरेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार बाहिर बच्चासँगै निस्केको पोथी गैंडा मृत अवस्थामा फेला परेको थियो ।

पोथी गैंडाको केटा सँगसँगै गएपनि उसको अवस्था अज्ञात छ । निकुञ्जले गैंडाको केटा खोज्न शुक्रबार बिहानदेखि नै थाले पनि भेटिएन । शनिबारदेखि चार वटा हात्ती, नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालित भएको सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । पोथी गैंडा निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकाको बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी मृत अवस्थामा फेला परेको थियो ।

‘पोथी गैंडा प्राकृतिक कारणले मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भने, ‘खाग लगायत अंग सुरक्षित छ । यस क्षेत्रमा निकुञ्ज कर्मचारी र नेपाली सेनाले केटालाई खोज्ने काम गरिरहेका छन् ।’ घटनास्थल हेर्दा माउको मृत्यु भएपछि केटा निकैबेर त्यहीँ रहेको संकेत देखिएको छ । निकुञ्ज प्रशासनका अनुसार माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको छ ।

माउ गैंडा मृत भेटिएको ठाउँ निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारि पर्छ । माउ गैंडा करिब १९/२० वर्ष उमेरको थियो । निकुञ्ज मुख्यालयबाट पर र अप्ठ्यारो ठाउँ भएकाले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेको थिएन ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलमा शनिबार बिहान पुगेर गैंडाको पोष्टमार्टम गरेको जनाएको छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ३८ वटा गैंडा छन् । गैंडाको बासस्थान कर्णाली नदी तटीय क्षेत्र, बबई उपत्याका र खाता जैविक मार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार