

काठमाडौं : सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।
शनिबार सिंहदरबारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले चुनावी प्रयोजनका निम्ति करोडौँ रुपैयाँ असुली गर्न सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरेका हुन् ।
सांसद शर्माले देशमा कानुनमाथि टेकेरै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले क्यासिनो सञ्चालनका निम्ति तोकिएको रकमको सीमाको दायरा बढाउने गरी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
“यो सम्पत्ति शद्धीकरण भन्नेचाहिँ प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ के ! यो किन राख्या भने’नि माल खानका लागि राखेको हो ! चुनावका बेला प्राइममिनिस्टर जोसुकै भए पनि प्राइममिनिस्टरहरूले ठूला व्यापारीहरूलाई ट्वाक्क चिठी काट्ने । छापा हान्न पठाउने,” उनले भने, “अनि, माल यति करोड भनेर लिने, अनि चुनाव लड्ने । यो देश यस्तो अपराधीकरण भएको छ कानुनमा टेकेर ।”