

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरूका जायज माग सम्बोधन हुने बताएका छन्।
विद्यालय शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको आइतबार जवाफ दिँदै मन्त्री राईले उपयुक्त र जायज माग सम्बोधन हुने बताए।
‘शिक्षकहरूसँग भएका समझदारी सम्बोधन हुनुपर्छ भनेर धेरै माननीयहरूले राय राख्नुभएको छ,’ उनले भने, ‘उपयुक्त र जायज मागहरूलाई सम्बोधन गर्न सरकार सकारात्मक छ।’ अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरूका माग सम्बोधन गरिने उनले बताए।
शिक्षा मन्त्री राईका अनुसार विद्यालयका प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट छान्ने विधेयकमै प्रस्ताव गरिएको पनि बताए। ‘राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोग स्वायत्त हुनुपर्छ भन्ने सुझाव आएको छ। यो विधेयकमा पनि अघि सारिएको छ,’ उनले भने।