असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने

२०८० आश्विन २१, आईतवार

काठमाडौं : असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने उल्लेख गरेको छ। दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ।

विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।

यसरी प्रणालीबाट बाहिरिएको नयाँ नोटहरू करिब पाँच वर्षमा पुराना भएर राष्ट्र बैंक नै फकिन्छ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै राष्ट्र बैंकले ४ अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलानको लागि पठाएको थियो। पछिल्लो समय राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ।

चलनचल्तीमा रहेका पाँच रुपैयाँ र १० रुपैयाँको नोट धेरै चाडो पुरानो हुने गरेको छ। यस्ता नोटको आयु लगभग तीन वर्षको मात्रै हुने गर्छ। राष्ट्र बैंकले हाल एक र दुई रुपैयाँका नोट निष्कासन गर्न छाेडेको छ। पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा साना दरका नोटलाई सटहीमा प्रयोग गरिरहेको छ।

कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ। औसतमा सबै खाले मुद्रा छाप्न दुई रुपैयाँ ५० पैसा लाग्छ। वि.स. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो ।

नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले २०१५/१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थालेको हो। दसैंमा अर्थतन्त्र सहरबाट गाउँतिर सर्ने भएकोले दसैंमा नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो। दसैंमा आम उपभोगमा पनि वृद्धि हुने भएकोले त्यतिखेर यस्तो सुरूवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो।

राष्ट्र बैंकको गत साउनसम्मको तथ्यांकअनुसार बजारमा ५ खर्ब १४ अर्ब रूपैयाँ बराबरका पैसा चलनचल्तीमा छ। दसैंमा चलनचल्तिमा रहने रकम केही बढ्ने गरेको छ।

दसैं लगायतका चाडपर्वमा लगभग ६ खर्बभन्दा बढी रकम चलनचल्तीमा रहने गरेको छ। सर्वसाधारणको हातहातमा पुग्ने यस्तो रकम लगभग १५/२० दिनमा बैंकिङ प्रणालीमा फर्कन्छ भने ५ खर्ब बराबरको रकम चलनचल्तीमै रहिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार