राष्ट्रपतिबाट आज संसद्को संयुक्त बैठकलाई सम्बोधन

२०७९ माघ २७, शुक्रबार १०:३९ बजे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ ।

राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने कार्यसूची छ । उहाँले गर्नुहुने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल हुनेछ ।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार