कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक छ : प्रवक्ता महत

२०७९ माघ २७, शुक्रबार १३:१९ बजे

चितवन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो ।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए । प्रवक्ता डा महतले थपे, ‘ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।’

कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे । कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे । उनले भने, ‘राजा चाहिन्छ भन्ने पनि छन् । चाहिँदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार