ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

२०७९ माघ २७, शुक्रबार १४:४९ बजे

काठमाडौँ : ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो ।

यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ ।

आगामी फागुन १० देखि १७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा हुने गाउँपालिका उपप्रमुख विकास साम्रा (लिम्बू) ले जानकारी दिए । शल्यक्रियामा डा सन्दुक रुइत सहभागी हुने लिम्बूले बताएका छन् ।

दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाले शिविरको आयोजना गरेको उपप्रमुख लिम्बूले बताए । शिविरमा नगरपालिकासहित नजिकका जुनसुकै गाउँपालिकाका बिरामीले सेवा लिन सक्नेछन् । रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार