

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितहरूको उद्धार र राहत वितरणमा सरकारले कडाईका साथ एकद्धार प्रणाली अपनाएको बताएकी छिन् । उनले विगतका प्रकोपहरूमा जस्तो पीडितहरूमाझ जाने र दुई पोका राहत दिएर सेल्फी खिच्ने, टिकटक बनाएर सार्वजनिक गर्नेजस्ता गतिविधिहरू यसपटक हुन नदिइएको दाबी समेत गरिन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘पहिलेजस्तो एक दुई पोका राहत दिने, सेल्फी खिच्ने र टिकटक बनाउने, सामाजिक सञ्जालमा हल्ला गर्ने गतिविधिलाई यसपटक हुन दिइएको छैन । त्यस्तो गर्नेहरूलाई बाटोमै रोकिएको छ ।’
उनले राहत वितरणमा प्रदेश सरकार र स्थानीय तहको नेतृत्व रहेको बताइन् । ‘राहत वितरणलाई एकद्धार बनाउने सरकारको निर्णय हो । त्यहीअनुसार जहाँबाट जसरी प्राप्त भएपनि ती राहत सामाग्रीहरुलाई स्थानीय तहमार्फत् वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री शर्माले भनिन्, ‘राहत वितरण व्यवस्थित छ, एकद्धार प्रणालीबाटै भएको छ । सकेसम्म सबैलाई समयमा राहत उपलब्ध गराउने प्रयास भएको छ ।’
उनले राहत वितरणमा पक्षपात भएको भन्ने विषयमा सत्यता नभएको दाबी गरिन् । ‘राहत वितरणमा पक्षपात गर्ने भन्ने कुरा सोच्न पनि सकिदैन । यदि कसैले त्यस्तो सोच्छ भनेमात्रै पनि त्यो त अपराध नै हो,’ उनले भनिन् ।
उनले कुनै पनि ठाउँमा त्यस्तो पक्षपात भएको छ भन्ने सूचना सरकारलाई प्राप्त नभएको बताइन् । ‘एकैपटक सबैलाई पीडा भएको छ, समस्या भएको छ । बाँड्दै जाँदा कसैलाई छिटो प्राप्त हुने, कसैलाई अलि ढिलो हुने भएको हुन सक्छ, तर पक्षपातपूर्ण व्यवहार भएको सूचना सरकारलाई छैन, कसैलाई पनि त्यस्तो गर्न दिइदैन,’ उनले भनिन् ।