भित्रैका बिचौलियाले वीर अस्पताललाई बदनाम गरे : स्वास्थ्यमन्त्री बस्नेत

२०८० कार्तिक २५, शनिबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पतालभित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन्।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वीर अस्पतालकै तलव खाने, तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पतालभित्रैकै बिचौलिया भएको दावी गरे।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन्। उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ।’ देशकै जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरिकै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै उनले वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा  जोड दिए।

वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरी तलव खाने बिचौलियाबिचको विभेद छुट्याएर नेतृत्वले कामअनुसार अवसर प्रदान गर्नुपर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए।

उनले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निःशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाईनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दावी गर्दै केही बिचौलियाले सहन नसकेर वीरको बदनाम गर्दै हिँडेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार