

काठमाडौँ : तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ ।
गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ दिएका छन् । गीतमा गायक रायमाझीकै शब्द, संगीत र संगीत संयोजन छ ।गीतको भिडियो पनि बनेको छ । जसमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोमा सनम तामाङको छायाँकन, अर्जुन खड्काको सम्पादन छ । भिडियोको निर्देशन विजय मगरले गरेका हुन् । गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत ल्याएका थिए ।