पूर्वराजालाई भेटे लगत्तै झापा हिडे राजेन्द्र लिङ्देन

२०८० कार्तिक २६, आईतवार

काठमाडौं : १२ दिन लामो अमेरिका भ्रमणबाट फर्किए लगत्तै गत बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरे । नियमित भेट भनिए पनि कुराकानीको अन्तर्वस्तु विशेष थियो ।

पूर्वराजासँग भेटे लगत्तै लिङ्देन हतारिएर हिजो आफ्नो गृह जिल्ला झापातिर लागेका छन् । उनी तिहार मनाउन होइन, राजनीतिक प्रयोजनले झापा गएको स्रोतले बताएको छ । उनले पार्टीको आसन्न केन्द्रीय समितिको बैठकसमेत पर सारेका छन् । राप्रपा उच्च स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र आउँदो ९ मंसिरमा झापा जाने कार्यक्रम तय भएको छ । यो भ्रमणलाई विशेष र सफल बनाउन लिङ्देन जुटेका छन् ।

झापाको बिर्तामोडस्थित एक विद्यालयमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । दुई वर्षअघि नै व्यक्तिगत स्तरमा निर्माण गरिएको भए पनि यसलाई अहिलेसम्म छोपेर राखिएको थियो । पूर्वराजाले सो विद्यालयमा पुगेर शालिक अनावरण गर्नेछन् । भ्रमणको मुख्य कार्यक्रम यो हो । शालिक अनावरणपश्चात् स्थानीय जनतासँग पूर्वराजाले भेटघाट गर्नेछन् । पूर्वराजाको यो भ्रमणमा ‘गणतन्त्रवादीको मुटु चस्किने गरी’ व्यापक जनलहर सिर्जना गर्ने तयारीमा राप्रपा जुटेको छ । लिङ्देन आफैँले यसको नेतृत्व लिएका छन् । आफ्नो गृह जिल्ला भएकाले उनले यसलाई व्यक्तिगत प्रतिष्ठाकै विषय बनाएको निकट स्रोत बताउँछ ।

पूर्वराजासँग भेटेकै दिन बिहीबार दिउँसो दुई बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा अध्यक्ष लिङदेनले पूर्वराजासँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए र झापामा तय भएको कार्यक्रमबारे जानकारी दिएका थिए । भेटमा राजसंस्थाको पक्षमा बन्दै गएको माहोल तथा आगामी रणनीतिका बारेमा समेत छलफल भएको उनले बताए ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९, १० र ११ गतेका लागि बोलाइएको थियो । लिङदेन झापा जाने भएपछि सो बैठक पुस १, २ र ३ गतेलाई सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
4
+1
8
+1
0

ताजा समाचार