

बिर्तामोड : लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर वेपत्ता भएका छन् । सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्म ठगिमा परेका छन् ।
जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफुहरु ठगिएको जनप्रतिनिधिहरुको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित वेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडितहुनेहरुले हालसम्म ७० हजार रुपियाँदेखि १ करोड १३ लाखसम्म ठगिएको बताएका छन् ।
सबै जनाले आफुहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्ड कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफुहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् । झापा गाउँपालिका वडानम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजविन समिति समेत गठन गरिएको छ । हालसम्म आधिकारीक रुपमा २७ करोड रुपियाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए ।
यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजविनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधरणको करोडौ रुपियाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पत्ती नै झापा जिल्ला कारागारमा छन् ।