तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट

२०८० कार्तिक २७, सोमबार

खजुरा :  बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिका-९ उद्दैनमा गएराति साढे १२ बजेतिर स्थानीय केही युवाबिच झडप हुँदा सैनिक जवान कुटिएका हुन् । सैनिक जवानको अवस्था गम्भीर रहेको ढकेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यज्ञ घर्तिले जानकारी दिए । कुटपिटबाट सोही ठाउँका विष्णु खत्री गम्भीर घाइते भएको प्रसनि घर्तिले बताए । घाइते भएका घर्ति डोटीमा नेपाली सेनामा कार्यरत रहेको र तिहार मान्न विदामा घर आएका उनले जानकारी दिए ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित शिक्षण अस्पताल (नर्सिङ होम) मा लगिएको उनले जानकारी दिए । कुटपिटमा परी घाइते भएका खत्रीको टाउकोमा गहिरो चोट लागेको घर्तिले बताए । खत्रीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय मनोज खत्री, २४ बर्षीय जीवन खत्री र २५ वर्षीय केशव पुन रहेको प्रसनि घर्तिले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको उनले बताए । कुटपिटमा संलग्नमाथि अनुसन्धान सुरु गरिएको कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
4
+1
0
+1
2
+1
0

ताजा समाचार