

काठमाडौँ : सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘टाइगर ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले दुई दिनमा घरेलु बक्सअफिसमा सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको हो।
लक्ष्मीपूजाका दिन रिलिज भएको यस फिल्मले पहिलो दिन साढे ४४ करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरी सोमबार फिल्मले ५८ करोड भारु कलेक्सन गरेको छ। यस फिल्मले दिवालीमा रिलिज भएका फिल्ममध्ये सर्वाधिक कमाइको रेकर्ड राखेको छ। दुई दिनमा १०२ करोड भारु कमाएसँगै सलमानको ‘टाइगर ३’ सय करोड क्लबमा समावेश १७औं फिल्म बनेको छ।
रिलिजको दोस्रो दिन फिल्मको कमाइमा ३० प्रतिशत वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्पाई थ्रिलर यस फिल्मले विश्वभरि भने २०० करोड भारु कलेक्सन गरिसकेको छ। ‘‘टाइगर ३’’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खानलगायतले अभिनय गरेका छन्। मनीष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएको थियो।
यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा छन्।