प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु

२०७९ माघ २८, शनिबार ०९:०६ बजे

काठमाडौँ : सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज यहाँ  सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ ।
 
उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी छन् ।  उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति सहभागी छन् । 
  
प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशाला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र  ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सात सय ५० धावक सहभागी छन् ।

 सैनिक सहचारी र सेनाका महाविद्यालयमा अध्ययनरत छात्रछात्रा सम्मिलित १० किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगर प्रदान गरिने सेनाले जनाएको छ ।  प्रतियोगितामा पाँच सय धावक सहभागी छन् । नेपाली सेनाले यस पटक आफ्नो स्थापनाको २६० औँ स्थापना दिवस मनाउने क्रममा छ । सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार