दिनभरि जनताको काम, साँझ बिहान बारीमा

२०७९ माघ २८, शनिबार ०८:३५ बजे

तुलसीपुर : दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसूस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिँदैछन् ।

पुर्खौंदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिन्छन् । उनले भने, ‘म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।’ वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन् । 

‘जनप्रतिनिधि होस् या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन,’ वडाध्यक्ष चौधरीले भने, ‘तर म भने उत्पादनमा जोडिनुपर्छ, ता कि यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।’   करीब ३ कट्ठामा उनले गोलभेंडा खेती गरेका छन् । अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन् । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि ३ बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । 

उनले मंसिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेंडा निकालेर बजारमा बिक्री गर्छन् । हाल किलोको ३० रुपैयाँ मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिँदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ । ‘हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन,’ उनले भने, ‘त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।’ 

तरकारी बेचेर उनले वार्षिक ६/७ लाख आम्दानी गर्दै आएका छन् । त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाइ छ ।

‘हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं,’ उनले भने, ‘तर भाषणले मात्रै समृद्ध हुन सकिँदैन, आफैं पनि उद्यममा जोडिनुपर्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार