जिल्लामै पहिलो पटक हरिवनमा विद्युतीय चार्जिङ स्टेसन

२०७९ माघ २८, शनिबार १२:१९ बजे

सर्लाही : हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना हुन थालेका छन् ।

एक पटकमा चार वटा सवारीसाधन चार्ज गर्न सकिने गरी दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । उनका अनुसार दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि रू एक करोड ५० लाख लगानी गरिएको छ । “एउटा गाडि चार्ज हुन करिब तीन घन्टा लाग्छ”, उनले भने । चार्जिङ स्टेसन स्थापनापछि विद्युतीय सवारी पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुनबाट बचाउन सहज हुने उनले बताए ।

हरिवन नगरपालिका–११ का भरतप्रसाद उप्रेतीले परम्परागत इन्धनबाट वातावरणमा हुने प्रदूषणले पार्ने नकारात्मक असर तथा इन्धनको मूल्यमा देखिएको उतारचढावका कारण विद्युतीय सवारीसाधनको महत्व बढेको बताए । उनका अनुसार विद्युतीय चार्जिङ स्टेसन स्थापना भएपछि विद्युतीय सवारीसाधनको सङ्ख्या पनि बढ्नेछ । बेलायतलगायत केही युरोपियन देशले सन् २०४० सम्म परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई शून्य–कार्बन उत्सर्जन (जेरो इमिशन) गर्ने उद्देश्यले त्यस्ता सवारी साधनलाई विस्थापन गर्ने लक्ष्य लिएका छन् ।

नेपालको कूल कार्बन उत्सर्जनको २६ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको वातावरण विद्ले बताएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्नुपर्ने भन्दै यसका लागि तीनै तहका सरकारले विद्युतीय सवारीसाधन खरिद गर्न प्राथमिकता दिनुपर्ने सारोकारवालाको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार