टीकापुरमा भूमिहीन सुकुम्वासीको प्रदर्शन

२०८० मंसिर १७, आईतवार

टीकापुर : टीकापुर नगरपालिका –१ का भूमिहीन सुकुम्वासीले छिटो निस्सा पाउनुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले नगरपालिकामा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

टीकापुर नगरपालिकामा करिब १० हजारजति सुकुम्वासी, भूमिहीन, मुक्त कमैया, बाढीपीडित, भूपु कर्मचारी छन् । जसमध्ये चार हजार ७२१ जना वडा १ मा मात्र छन् । उनीहरुले टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर माविको सयौं विघा जमिन कब्जा गरेर बसेका छन् । भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबास एकता समाज नगर समन्वय समितिका अध्यक्ष पूर्णबहादुर खडकाले सात बुंदे एजेण्डा बुझाउँदै वार्ता समितिले नगरप्रमुखसँग लिखित सम्झौता गर्ने र सबैले जग्गा पाउनु पर्ने माग गरे । ज्ञापनपत्रमा फाराम भरेका भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीलाई छिटो निस्सा दिनुपर्ने माग उनीहरुको छ ।

त्यस्तै, टीकापुर विकास समितिका भूतपूर्व कर्मचारीलाई जग्गा दिनुपर्ने, बाढीपीडितलाई पुग्दो जग्गा दिनुपर्ने, मुक्त कमैया कम्लहरीलाई राहत प्याकेज दिनुपर्ने, वडा १ मा बसोबास गरिरहेकालाई जन्मदर्ता, नागरिकता, विवाह दर्ता सहज हुनुपर्ने, शिविरका विद्यालय गाभ्न नहुने माग उनीहरुको छ । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले सुकुम्वासीलगायतका समस्या सम्बोधन गर्न जनप्रतिनिधिहरु लागिरहेको तर धैर्य गर्नुपर्ने बताए । उनले सुकुम्वासीसँगै हुकुमबासी पनि मिसिएकाले काम गर्न समस्या भएको उनको भनाइ छ । नगर र वडामा भूमिसम्वन्धी समितिहरुले काम गरिरहेको उनले जानकारी दिए ।

टीकापुर नगरपालिका वडा १ मा सात वटा शिविरमा चार हजारभन्दा बढी परिवार भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीका रुपमा बसिरहेका छन् । २०६४ सालमा संविधानसभाको चुनावताका सरकारले जग्गा नभए पनि बसाइसराइ दर्तागरी मतदाता नामवलीमा समावेश गर्ने सहुलियत दिएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबैजसो जिल्लाबाट मानिसहरु आइ क्याम्पस र विद्यालयको जग्गामा बस्न थालेका थिए ।

बाहिरका मानिसहरु आइ बस्न थालेपछि स्थानीय बाढीपीडित, मुक्त कमैया, विकास समितिका पूर्वकर्मचारी लगायतले समूह बनाइ जग्गा कब्जा गरेका थिए । त्यसयता जग्गा किनबेच गर्नेक्रम जारी छ । अहिले सुकुम्वासी समस्या समाधान गर्न सरकारले उनीहरुलाई बसेकै ठाउँमा जग्गा दिने भनेपछि यहाँ बसेका भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासी हौसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार