नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने

२०७९ फाल्गुन २८, आईतवार १३:२५ बजे

काठमाडौँ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो १ बजे लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।

संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको छ ।

‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएकाले २ बजे भित्र उहाँ (विद्यादेवी भण्डारी)ले शीतल निवास छोड्नुहुन्छ’, भण्डारीका स्वकीय सचिव अधिकारीको भनाइ छ । पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार