
विराटनगर : इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो ।
२६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । ‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’
उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको थियो । इन्धन सुविधा कटौती गर्दा वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने मेयर पौडेलले बताए । महालेखा परीक्षकको कार्यालयले पनि खाजा खर्च कटौती गर्न उपमहानगरपालिकालाई सुझाव दिएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।