डीएसपी केसीबारे छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

२०७९ फाल्गुन २८, आईतवार १८:५६ बजे

काठमाडौँ : प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन बुझाएको छ । आइतबार समितिका संयोजक (एसएसपी) चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । समितिमा प्रहरी प्रधान कार्यालयका एसपी काजी कुमार आचार्य, सिआईबीका डिएसपी दुर्गा दाहाल र दुईजना इन्स्पेक्टर सदस्य थिए ।

बुटवलस्थित टेलीकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता  गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।

सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ छानबिन समितिको निष्कर्ष छ । सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डीएसपी केसीले बद्निय राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ,‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’

समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

रसुवास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा अवैध सुन बरामद गरेर बाँडेर लिएका इन्स्पेक्टर खेम नेपाललाई पनि प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न अख्तियारलाई जिम्मा लगाएको थियो । विवादित सुन पनि छानबिन समितिले बरामद गरेको छ । सुनको वैधताबारे समितिले अनुसन्धान गरेको छैन ।

डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र रेग्मी बिदा बसेको बेला डिएसपी केसीले भन्सार छलीको कपडा कारोबारीबाट पनि रकम लिएको थाहा भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले गरेको छानबिनबाट उनको खातामा घुस बापत २ लाख ५० हजार रकम जम्मा भएको भेटिएको छ ।

बेलहिया नाकाबाट भन्सार छलेर ल्याएको कपडा प्रहरीले बरामद गरेको थियो । तर, डिएसपी केसीले आर्थिक लाभ लिएर सो कपडा व्यापारीलाई नै जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार