
काठमाण्डौं : बजारमा दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको पनि भाउ बढेको छ । दूधजन्य पदार्थमा सात रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्म बढेको निजी डेरी उद्योगीहरूले बताएका छन् ।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले आधा लिटरको प्याकेट दूधको ५० रुपैयाँ तिुर्नपर्छ । यसअघि उपभोक्ताले ४३ रुपैयाँ तिर्दै आएका थिए । त्यस्तै, दूधको मूल्य वृद्धि हुनुअघि आधा लिटर दहीको मूल्य ६५ रुपैयाँ थियो । अब ग्राहकले आधा लिटर दहीको लागि ८० रुपैयाँ तिर्नुपर्छ ।
पनिरको मूल्यमा पनि प्रतिकिलो एक सय ५० रुपैयाँले वृद्धि भएको छ । अहिले बजारमा पनिरको मूल्य प्रतिकिलो नौ सय ५० रुपैयाँ तोकिएको छ । यसअघि पनिर प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो ।
दूधको नयाँ मूल्यअनुसार सबैभन्दा बढी नौनीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ बढेको छ । पहिले प्रतिकेजी नौ सय रुपैयाँमा पाइरहेको नौनीको लागि अब ग्राहकले ११ सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, घ्यूको मूल्य प्रतिकिलो ११ सय रुपैयाँबाट बढेर १३ सय रुपैयाँ पुगेको छ ।
सरकारले किसानले पाउने दूधको मूल्य नौ रुपैयाँले वृद्धि गरेपछि उद्योगीले पनि उपभोक्ता मूल्य १४ रुपैयाँले वृद्धि गरेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।