
काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पहिलो चोटी सार्वजनिक सुनुवाइ गरेको छ । चालु आर्थिक वर्ष २०७९/०७९को पहिलो सार्वजनिक सुनुवाइमा मेयर बालेन्द्र शाह(बालेन) भने सहभागी भएनन् ।
राष्ट्रिय सभा गृहमा भएको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले ‘बालेनलाई प्रश्न छ’ भन्दा मेयर भने कार्यक्रममा नदेखिएका हुन् । प्रश्नकर्ताहरुले कार्यक्रममा मेयर हुनुपर्ने माग गरे पनि बालेन भने आएनन् ।
मेयर बालेनको सचिवालयले सिटी समिटका लागि भोलि सोमबार मेयर लण्डन जाने भएकोले सोहि तयारीको कारण सार्वजनिक सुनुवाइमा सहभागी नभएको बताएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरवासीको अत्यन्तै कम संख्यामा मात्रै सहभागी रहेको थियो । महानगरले पहिले फागुन १९ गते गर्ने भन्दै प्रचार गरेर पछि फेरि आज फागुन २८ गतेका लागि मिति सारेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा लिखित र मौखिक रुपमा खुल्ला मञ्च व्यवस्थापनको बारेमा आएको प्रश्नको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जवाफ दिएका थिए । उनले जवाफमा खुल्ला मञ्चको विषय अध्ययनको मात्रै भएको भन्दै अहिले नै चर्चा भएजस्तो भूमिगत पार्किङ बनाइ हाल्ने योजना नभएको सुनाएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।