शिकारीको पासोमा परेर चितुवाको मृत्यु

२०७९ फाल्गुन २९, सोमबार ११:२४ बजे

रुपन्देही : बँदेलको शिकार गर्न थापिएको पासोमा परेर गुल्मीको छत्रकोटमा एउटा चितुवा मरेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–२ अन्तर्गत मनबागमा आइतबार भाले चितुवा मृत अवस्थामा फेला परेको हो । 

चार मिटर भन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याइ कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ । गत वर्ष छत्रकोट गाउँपालिकाको लुम्छामा पनि यसै गरी पासो बाँधिएकै अवस्थामा चितुवा मृत फेला परेको थियो ।

केही महिना अघि गुल्मीदरबार गाउँपालिकामा घाइते अवस्थामा फेला परेको चितुवालाई उद्धार गरी रेसुङ्गा संरक्षित वन क्षेत्रमा लगेर छाडिदिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार