
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्रीको पदभारमा रहँदा गरेका निर्णयहरु कुनै पनि प्रश्न खडा गर्ने खालको नभएको बताएका छन्। सोमबार चितवनको सौरहामा भएको केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले निर्णयमा हस्ताक्षर गर्दा विवादित निर्णयमा हस्ताक्षर नै नगरेको र गरेका निर्णयमा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका हुन्।
उनले भने, ‘पदको लोभ यसकारण छ। जुन पदमा पुगेर जनताको सेवा गर्न पाइन्छ। मैले गृहमन्त्री बन्दा ४०/४१ वटा हस्ताक्षर गरेको रहेछु। त्यो हस्ताक्षर गरेको निर्णयहरुमा एउटा पनि प्रश्न आएको छ भने म सामना गर्न सक्छु।’ देशमा आएको राजनीतिक उथलपुथलले रास्वपालाई हजारौं समस्या र चुनौती ल्याएको बताउँदै सभापति लामिछानेले यस्ता प्रत्येक चुनौती र समस्यालाई पन्छाउँदै यहाँसम्म आइपुग्न सकेकोमा गर्व गर्नुपर्ने बताए।
अन्य राजनीतिक दलले अहिलेसम्म नभोगेका समस्या रास्वपाले ७ महिनामै भोगेको समेत लामिछानेले बताए। चितवनको सौरहामा आइतबार (हिजो) देखि सुरु भएको प्रशिक्षण कार्यक्रम सोमबार (आज) समापन हुने रास्वपाकी केन्द्रीय सदस्य बिन्दबासिनी कंसाकारले जानकारी दिइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।