मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी

२०७९ फाल्गुन २९, सोमबार १७:१० बजे

काठमाडौं : राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटाैँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकरी दिएको हो ।

मकवानपुरमा १० वटै स्थानीय तहमा तीन सय ७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगको भनाइ छ । आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालापुर्जा प्राप्त गर्ने बताउनुभयो ।

जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकरी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा दिइने बताउनुभयो । यसकार्यमा सबैको सहयोग आवश्यक हुने उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहीन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्नै विचार व्यक्त गर्नुभयो । यसैबीच भूमिअधिकार मञ्च हेटाँैडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन हुनुभएको छ । मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिगं, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन हुनुभएको छ ।

यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार