
काठमाडौं : नेपालकै यस प्रकारको सबैभन्दा ठुलो अध्ययनमा काठमाण्डौं उपत्यकाका डान्सबार, क्याबिन रेस्टुरेन्ट, स्पा र मसाज पार्लर, दोहोरी रेस्टुरेन्ट र साना खाजा पसलहरू (खाजा घरहरू) लगायतका वयस्क मनोरञ्जन क्षेत्रमा निकृष्ट प्रकारका बालश्रममा परेका बालबालिका र युवाहरूले ४०० वटा जीवनकथाहरू सङ्कलन र विश्लेषण गरेका थिए ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै “बालश्रमः दक्षिण र दक्षिण पूर्वी एसियामा कार्यमूलक अनुसन्धान नवीनता नेपालले उक्त अध्ययनबाट प्राप्त नतिजाहरु सञ्चारकर्मीहरुमा माझ प्रस्तुत गरेको थियो । उपत्यकाका प्रमुख वयस्क मनोरञ्जन स्थलहरु गोंगबु, कलङ्की, ठमेल, दरबारमार्ग, सुन्धारा, कोटेश्वर, मनोहरा लगायत क्षेत्रहरुमा उक्त अध्ययन गरिएको थियो ।
“यस अध्ययनले नेपालमा वयस्क मनोरञ्जन क्षेत्रमा हुने निकृष्ट प्रकारका बालश्रमसम्म बालबालिकाकाहरु किन र कसरी आइपुग्छन् भन्ने उजागर गर्दछ ।

परिवारको कमजोर आर्थिक अवस्था र बालबालिका काठमाण्डौं जाने र/वा त्यहाँ काम गर्न थाल्ने कार्यहरु बीच अन्तरसम्बन्ध रहेको पाईन्छ । परिवारको आर्थिक समस्याहरुको पछाडि पारिवारिक स्वास्थ्य समस्याहरु हुनु र पारिवारिक घटनाहरु जस्तै आमाबाबुको रक्सीको लतमा पर्नु, पारिवारिक हिंसा हुनु र आमाबाबु छुट्टिनु आदि कारणहरु अध्ययनले देखाएको छ ।”, क्लारिसा नेपालको अनुसन्धानकर्ता सम्झना भुजेलले भने ।
क्लारिसा नेपाल कार्यक्रमकी अर्की अनुसन्धानकर्ता रञ्जना शर्माले भने, “वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकालाई समाजले नराम्रो तवरले हेर्छ । त्यसैले उनीहरुको जीवनका भोगाइहरु समाजमा बाहिर आउन पाएका हुँदैनन् । क्लारिसा नेपाल कार्यक्रम अन्तर्गत हामी त्यस्ता बालबालिकाहरुको कुरा सुन्छौं र उनीहरूको अनुभवबाट सिक्छौं । हाम्रो अनुसन्धानले नेपालमा वयस्क मनोरञ्जन क्षेत्रमा विद्यमान निकृष्ट प्रकारका बालश्रममा फसेका बालबालिकाहरूले सामना गर्ने समस्याहरू बाहिर ल्याउँछ ।”
वयस्क मनोरञ्जन क्षेत्रमा दुवै रोजगारदाता र ग्राहकहरुले श्रमिक बालबालिकामाथि गर्ने दुव्यवहार र शोषण ती जीवनकथाहरुले उजागार गर्छन् । बालबालिकाले काम खोज्ने क्रममा विभिन्न मध्यस्तकर्ताहरु जस्तै चिनेजानेका व्यक्ति, साथी, नातेदार, छिमेकी र कुनैकुनै अवस्थामा नचिनेका व्यक्तिहरुमाथि भर पर्ने पनि अध्ययनले देखाएको छ । क्लारिसा नेपालले गरेको अध्ययनको महत्व चर्चा गर्दै क्लरिसा नेपालका राष्ट्रिय संयोजक (कन्ट्री कोअर्डिनेटर) सुधीर मल्लले भने, “नेपालमा निकृष्ट प्रकारका बालश्रमको समस्या एक प्रणालीगत समस्या हो । यसलाई सम्बोधन गर्न यस प्रणाली भित्रका कारक तत्वहरु र तिनीहरुबीचको अन्तरसम्बन्ध बुझ्न जरुरी छ ।
यस अध्ययनले प्रणालीभित्रका ती तत्वहरुको उजारगार गर्छ जसले परिवार, विद्यालय लगायत समस्त सरोकारवालाहरुलाई निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको मानसिक स्वास्थ्य लगायत समग्र हीतको लागि सँगसँगै काम गर्न सहयोग गर्दछ ।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।