निलम्बित डीएसपी ठग बहादुरलाई भ्रष्टाचार मुद्दा चलाउन सिफारिस

२०७९ फाल्गुन ३०, मंगलवार ११:२३ बजे

रुपन्देही : व्यापारीसँग अवैध असुलीमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीले पदीय दायित्व विपरीत बदमासी गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । समितिका संयोजक एसएसपी चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।

यो पनि पढ्नुहाेस्: ३५ तोला सुन र २५ लाख नगदसहित भेटिएका डीएसपी ठगबहादुर निलम्बित

प्रतिवेदनमा डीएसपी केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ छानबिन समितिको निष्कर्ष छ ।

सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि डीएसपी केसीले बदनियत राखेको समितिले प्रतिवेदनमा भनेको छ । सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको नदेखिएको प्रतिवेदनको निष्कर्ष छ ।

समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार