विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक

२०७९ फाल्गुन ३०, मंगलवार १६:५३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने व्यवस्था भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाउने बताए।

उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए राम्रो हुने पनि बताए।

‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौँ राष्ट्रपति नेपालले पाइसकेको हुन्थ्यो’, उनले भने, ‘डा. रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक शपथग्रहण गर्नुभयो। राजनीतिमा रुपान्तरणका लागि एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्। दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस्। ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्। ४ पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस्।’

महामन्त्री शर्माले भ्यूटावर बनाउने र एकैपटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको हुने गुनासो गरे। उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजना छनौट गरी अघि बढाउने गरी नीतिगत व्यवस्था जरुरी रहेको पनि बताए।

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए। उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायत आयोजना छनौट गर्न नहुने पनि पटकपटक दोहोर्‍याए।

महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने पनि बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार