रमाइलो गर्न हिडेँकी लोकगायिका नीरा छन्त्यालको पोखरा विमान दुर्घटनामा मृत्यु

२०७९ माघ १, आईतवार १८:०४ बजे

काठमाडौं : पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि मृत्यु भएको छ ।

उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।

‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर उसको कहिल्यै फोन आएन,’ बागलुङस्थित घरमा रहेकी हीराले भनिन् । विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन् ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।

नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम गरिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले बताए ।

नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार