बिदा मनाउन घर हिँडेका चिकित्सक दम्पतीको १० महिनाको छोरा सहित विमान दुर्घटनामा मृत्यु

२०७९ माघ १, आईतवार २०:०२ बजे

काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनी एमडी अध्ययनको तयारीमा थिइन् ।

‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले भने, ‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइनल सर्जन गुमाएका छौं ।’

डा. मरासिनीले थपे, ‘उहाँ एक अनुशासित र इमान्दार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुथ्यो ।’

सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।

‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइन । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाए ।

शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’, डा. जोशीले भने, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार