
काठमाडौं : पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।
सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।
विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।
दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी अनिल शाहले बताए ।
आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।