विमान दुर्घटना : ३ शवको महिला–पुरुष पहिचान भएन

२०७९ माघ २, सोमबार ११:०३ बजे

काठमाडौँ : यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए ।

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको एसपी केसीले जानकारी दिए ।

दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोचमा सोमबार बिहानैदेखि पुनः खोज तथा उद्धार सुरु गरेका छन् ।

दुर्घटनास्थलबाट ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा लगिएको छ । एउटा शव खोँचमा देखिएको र सो शव निकाल्ने प्रयास भइरहेको एसपी केसीले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले सोमबार बिहान ४ जनाको शव खोँचबाट निकालेको छ । खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ ।दुर्घटनामा परेका २३ जनाको सनाखत भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार