सम्भवत सभामुखको उम्मेदवार हुन पाउँछु : देवराज घिमिरे

२०७९ माघ २, सोमबार १६:३२ बजे

काठमाडौं : नेकपा एमालेका सांसद देवराज घिमिरेले आफू सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संवादका आधारमा समेत आफूले यस्तो सम्भावना देखेको उनको दाबी छ । एमालेबाट सभामुखका लागि उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा पनि दाबेदार छन्।

राष्ट्रपति नहुने अवस्थामा पूर्वसभामुख सुवास नेम्वाङ नै पुनः सभामुख हुन तयार हुने कतिपय नेताहरुको बुझाइ रहँदै आएको छ । तर, सांसद घिमिरे एमालेबाट आफू नै सभामुखको उम्मेदवार हुने दाबी गर्छन् । ‘सम्भवत मैले सभामुखको उम्मेदवारी पाउँछु’ घिमिरेले भने ।

उनी आफ्ना लागि दुईटा मात्रै विकल्प रहेको बताउँछन् । ‘मेरो अगाडि दुईटा अप्सन छन् । मन्त्रिमण्डलमा गएर जिम्मेवारी सम्हाल्ने कि सभामुख भएर जिम्मेवारी सम्हाल्ने । पार्टीले जे उचित देख्छ त्यसमा जान म तयार छु ।’

घिमिरे ४ मंसिरमा सम्पन्न आम चुनावमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमाले प्रदेश–१ इञ्चार्ज रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका हुन् । राष्ट्रिय सभा सदस्य भने उनी २०५६ सालमै थिए ।

घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन् । २०१३ जेठ १३ गते जन्मिएका घिमिरे २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट देवराज नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए ।

त्यसयता निरन्तर राजनीतिमा छन् । २०३२ मा कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए । २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भइ नेकपा एमाले बनेपछि २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिए । २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भए ।

तर, प्रतिनिधिसभा सदस्यको चुनावमा ०७९ मा पहिलो पटक टिकट पाए । पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका उनले सभामुखमा दाबी गरेका हुन् । तर, आफूमा अनुभवको कमी नरहेको उनको दाबी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार